कार्तिक २८ -नङजा बूढामगरलाई राम्रोसँग याद छ, बाल्यकालका चकचकीहरु । रोल्पाको कोर्चावाङ-४, घापाको घ्यु पोखरा स्कुलमा पढ्थिन् । दुई कक्षामा पढ्दाको कुरा हो- उनी दस वटा रोटी बनाइदिए मात्र स्कुल जाने जिद्दी गर्थिन् । उनलाई रोटी पकाएपछि आमाले कपाल बाटेर स्कुल पठाउँथिन् । पानीसमेत उनको झोलामा हुन्थ्यो । घरबाट २०-२५ मिनेटमै स्कुल पुगिन्थ्यो । 'तर म दिनभरिमा पनि स्कुल नै जादिन थिए,' उनले भनिन् । यी २० बर्षे युवती अहिले टेन प्लस टुमा अध्ययनरत छिन् ।
त्यसबेला नङजा काफल, मौसम, सुन्तला फल्ने सिजनमा त्यसैका बोटतिर जान्थिन् । 'रुख चढेर फल खान्थे । मकैको बोट भाँचेर उखुको स्वाद लिन्थे । मकैबारीमै रोटी खान्थे । आरामले त्यही सुत्थे,' उनी भन्छिन्, 'स्कुलमा बज्ने प्रत्येक घन्टीको आवाजको मतलव थिएन, थियो त केवल स्कुल बिदाईको जनाऊ दिने अन्तिम घन्टीको । किनभने बिदाको घन्टी बज्नेबित्तिकै म अरु विद्यार्थीभन्दा चाँडै घरपुग्न दौडिहाल्थे ।' उनलाई त्यस दौडाईको राम्रै फाइदा थियो । दिनभरि पढेकी छोरी थाकेकी छे भन्दै आमा निम्सरीले खाजा बनाइदिन्थिन् ।
धेरै दिन त्यस्तो बमदासी कहाँ चल्थ्यो र ? उनी दुई कक्षामा छंदै शिक्षकले 'छोरी स्कुल आउँदै नि' भन्दै आमालाई 'कम्प्लेन' गरिन् । 'ममी स्कुल पुग्नुभएपछि थाह भयो म एक महिनामा ७ दिन हाजिर भएछु,' उनी हाँस्दै सुनाउँछिन्, 'बुबा (टंक बहादुर) लाई भन्नुभएछ ।' त्यसबेला टंक जिल्ला वन कार्यालयमा कार्यरत् भएकाले सदरमुकाम लिवाङमै बस्थे । उनले बदमास छोरीलाई पढाउन लिवाङमै सारे । पहिलेको बक्सर उनका बुबा अहिले स्वयम्सेवक प्रशिक्ष्ाक छन् ।
नङजाको चकचकी पारो लिवाङको ब्राइट फ्युचर स्कुलमा पनि ओर्लिएन । यूकेजीबाट पढाई सुरु गरेकी उनी दैनिक ३-४ जनासँग झगडा गर्थिन् । केटा वा केटी जोसँग पनि । शिक्षकहरू उनलाई बुबाजस्तै बक्सर बन्छेस् भन्थे । स्कुलमा अंग्रेजी बोल्नु अनिवार्य थियो । एकपल्ट नेपाली बोलेको १ रुपैयाँ जरिबाना थियो । त्यो कप्तानले गर्थे । 'नेपाली बोलीहाल्थे । तर, मेरो नाम लेख्यो कि कप्तानलाई नै पिट्थे,' उनले सुनाइन्, 'पछि त जति बोले पनि कप्तानले जरिबाना तिर्ने सूचिमा मेरो नाम लेख्नै छाडे । अरुले त्यसको कम्प्लेन सरलाई गरेपछि मलाई नै कप्तान बनाइदिनुभयो ।'
कप्तान बनेपछि उनले चकचकी बानी फेरियो । साथी पिट्ने होइन, टिफिन कब्जा गर्नेतिर लागिन् । 'टिफिन माग्दा दिएन भने कारबाही भोग्नेमा नाम लेखिदिन्थे,' उनले भनिन्, 'एकजनाको अभिभावकले स्कुलमै आएर कम्प्लेन गरेपछि ५ सयपल्ट उठ्बस् गर्नुपर्यो । त्यसपछि टिफिन माग्न छाडेँ ।'
साथीलाई जिस्काउन तोती बोल्दा बोल्दै आफ्नो लबज पनि त्यस्तौ भएको उनले सुनाइन् । माओवादीले 'जनयुद्ध' रोल्पाबाटै सुरु गरेको थियो । माओवादी द्वन्द्व नङजाको बाल्यकालमा उत्कर्षमा पुगेको थियो । उनी लिवाङमा पढ्दा स्कुल र प्रहरी कार्यालयको दूरी करिब ५० मिटर मात्र थियो । उनी दुई कक्षामा पढीरहदा एक्कासी बन्दुक र बम पड्कियो । 'सरले ढोका बन्द गरेर बेन्चमुनि बस् भन्नुभयो, बस्यौं,' उनले त्रासदीपूर्ण अनुभव सुनाइन्, 'साथीहरु निक्कै रोए । म रोइन । डर भने लाग्यो ।'
उनको चकचकीको कुरा गर्ने हो भने फेसबुकमा खुबै चलेको '.....पनि लिमिट हुन्छ नि' ठ्याक्कै मेल खान्छ । उनले चार कक्षामा पढ्दा बुबाको दाह्री काट्ने पत्तीले आफैं कपाल खौरिएकी थिइन् । 'त्यसैले पहिलोपल्ट बुबाको पिटाई खाएँ,' उनले भनिन्, '६ कक्षामा छँदा क्लास बंक गरेपछि दोस्रोपल्ट बुबाको पिटाईमा परे ।' उनको चकचकी त्यहीबाट कम भयो र त्यसयता पिटाई पनि खाएकी छैनन् । अर्को बर्ष त उनले ग्लोब्स लाउँदै बक्सिङ सिक्न थालिन् । उही बदमास केटी अहिले देशकै उत्कृष्ट बक्सर भएकी छिन् ।
बुबाकै बाटो
सात कक्षामा पुगेपछि सुरुको तीन महिना कराते सिकिन् । त्यसपछि बक्सिङतिर लागिन् । स्कुलमा अब्बल छात्रा नभएकीले उनलाई बुबा टंकले राम्रोसँग पढ्, अहिले नखेल भन्थे । तर, उनी कहाँ टेर्नेवाला थिइन् र ? घरदेखि कभर्ड हल १०-१५ मिनेटमा पुगिन्थ्यो । 'बुबासँगै जाँदा कराएर हैरान पार्नुहुन्थ्यो । त्यसैले घरबाट बुबा निस्केको केहि बेरपछि जान्थे,' उनी सम्झन्छिन्, 'हलभित्र पुगेपछि चाहि गाली गर्नुहुन्न्नथ्यो । बक्सिङ सिकाउनुहुन्थ्यो ।'
त्यसबेला लिवाङमा केटाहरु १०-१२ जना खेल्थे । केटी म एक्लै हुन्थे,' उनले भनिन्, 'तीन जना साथी (केटी) पनि लिएर गएँ । पहिले दुई दिदीहरुले पनि बक्सिङ खेलेका रहेछन् । तर, निरन्तर खेल्ने म मात्रै हो । अरु सबैको विहे भइसक्यो ।' ट्रेनिङ गर्दा 'केटीले पनि बक्सिङ खेल्ने' भनेर सबैले 'बिल्ला' गरेको उनी बताउँछिन् । 'अहिलेपनि लिवाङमा बक्सिङ खेल्ने केटी नै छैनन्,' उनले भनिन्, 'तर, मैले आँट गरेरै निरन्तर खेलेँ, खेलीरहेको छु र शरीरले साथ दिएसम्म खेल्नेछु ।'
नङजाका बुबा टंक क्याम्पस पढ्न काठमाडौं आएका बेला फुटबल खेल्न रंगशाला छिरेछन् । पूर्वबक्सर पुश्करध्वज शाहीसँग भेट भएछ । घर र जात सोधेपछि शाहीले टंकलाई फुटबल होइन, बक्सिङ खेल भनेछन् । त्यसपछि बनेछन्, बक्सर । उनले थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका छन् । तर, देशकेा प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएनन् । 'बुबाको पूरा नभएको सपना म साकार पार्नेछु,' हिम्मतवाली नङ्जाले भनिन्, 'बुबाको चाहना पनि त्यही हो ।'
नङजाको ५ बर्षे बक्सिङ करिअरले बिदेशीविरुद्ध रिङमा भिड्ने संभावना नजिकिदै गएको प्रष्ट पार्छ । उनले सोमबार सम्पन्न गणेशमान स्मृति राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा अनुभवी दुई खेलाडीलाई हराएर ४८ केजीमुनि स्वर्णपदक जितिन् । सिनियर बक्सिङमा पहिलो स्वर्ण कब्जा गरेकी उनी प्रतियोगिताकै सर्बोत्कृष्ट महिला खेलाडी पनि चुनिइन् । उनी राष्ट्रिय युवा बक्सिङमा दुई बर्षअघि नै 'बेस्ट बक्सर' भइसकेकी थिइन् । अब पुस-माघमा हुने राष्ट्रिय टिम छनोटमा भिड्ने उनको योजना छ ।
कार्तिक २०७० मा सशस्त्र प्रहरी बलमा भर्ना भएकी नङ्जा निक्कै मिहिनेती भएको बताउँछन्, प्रशिक्षक किरण थापा । प्रतियोगिताको तयारीमा नङजाले दैनिक ६ घन्टा ट्रेनिङ गरेकी थिइन् । 'उनमा बक्सिङप्रति एकदमै लगाव र खुबै मिहिनेत गर्छिन्,' थापाले भने, 'एक बर्षयता गरेजस्तै मिहिनेत र प्रगति गर्ने हो भने उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नसक्छिन् ।'
मगरहरू बक्सिङका लागि उपयुक्त मानिन्छन् । कारण उनीहरू बलिया हुन्छन् । यो नङ्जामा पनि लागू हुन्छ । यी आक्रमक खेलाडीको 'हुक' सटिक हुने गरेको छ । उनी ईखालु पनि छिन् । उनी बक्सिङ सिकेको केहि महिनापछि नै जावलाखेलमा खुला प्रतियोगिता खेल्न राजधानी आएकी थिइन् । त्यसमा पहिलो खेलमै झापाकी सुरजमणि हेमरनसँग हारिन् । 'मैले जितेको खेल हराइदियो,' उनी जिद्दी गर्छिन्, 'मैले राम्रो खेलेको थिएँ । मेरो ब्लु बुकमै वोन काटेर लस्ट लेखिदिएको छ । चित्त बुझेन, एकदमै रोए । त्यसकै ईखले थप मिहिनेत गर्न थाले ।'
नङजाले अर्को प्रतियोगितामा सुरजमुनिलाई नकआउट गर्ने सोचेकी थिइन् । तर, अहिलेसम्म उनीहरुको रिङमा भेट भएकेा छैन । रिङबाहिर गत बर्ष भेट भएको थियो । 'उनले खेल्नै छाडिछन्,' नङ्जाले भनिन्, 'कुरा भयो खुशी लाग्यो । नतिजा उनको पक्षमा नभएको भए म अहिलेको अवस्थामा आइपुग्ने थिइन ।' त्यसपछि उनीसशस्त्रकै प्रमिला पाण्डेसँग पहिलो चरणमै हारेकी थिइन् । उनले प्रमिलालाई हराउने योजनासहित थप मिहिनेत गरिन् । खेलमा सुधार पनि भयो । तर, रिङमा भेट भएको छैन ।
प्रकाशित मिति: २०७१ कार्तिक २९ ०२:५३
http://www.ekantipur.com/kantipur/2071/7/28/full-story/333613.html#.VGdMzHI14rM.twitter