Pages

स्वर्ण र सन्तुष्टि

Monday, January 12, 2015
साफ गेम्सको पौडीमा नेपालले एकमात्र स्वर्णपदक १५ वर्षअघि जितेको थियो। त्यो टिमकी सदस्य नयना शाक्य राष्ट्रिय बास्केटबल खेलाडी पनि हुन्। उनले २२ वर्षे खेल जीवनबाट गएको साता सन्न्यास लिएकी छन्। तर, उनी खेलमै जीवन देख्छिन्। पौडीमै रहिरहने वाचा गर्छिन्।
रेश्मा शाक्य २०४७-४८ तिर नेपाली पौडीकी अब्बल खेलाडी थिइन्। उनलाई पछ्याउँदै बहिनी नयना राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित पौडी पोखरी पुग्थिन्। नयना दिदी पौडिएकी हेर्थिन् मात्रै। पछि उनलाई रेश्मा र मामा महेन्द्ररत्न शाक्यले जबरजस्ती पोखरीमा हाल्न थाले। 'पानी भनेपछि धेरै डर लाग्थ्यो,' २२ वर्षअघिका पलहरू सम्भ“mदै नयना भन्छिन्, 'म रुन्थें, चिच्याउँदै रुन्थें। स्विमिङ पुल नै थर्किने गरेर बचाउ-बचाउ भन्दै कराउँथें। जसले सिकाउन लागेको हो उनैलाई समातेर पानीमा डुबाउँथें।'


पौडी खेल्न नपरोस् भनेर उनी कहिले पेट त कहिले टाउको दुखेको बहाना गर्थिन्। यो क्रम चार सातासम्मै चल्यो। तर, उनी ख्वाउने र घुमाउने भनेपछि मक्ख पर्थिन्। आलु चप ख्वाउने भन्दै फकाएर मामाले पौडी खेलाउन थालेपछि बल्ल उनी स्विमिङ पुलमा रमाउन थालिन्। 'त्यसपछि रुन छाडें,' उनले भनिन्, 'घुम्ने र खानेसँगै पौडी चाँडै सिकें।'

यसबीच उनी नेपाली पौडीकी सर्वाधिक सफल खेलाडी भइन्। जितेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकको आधारमा उनको दाँजोमा पुग्ने अर्को नेपाली स्विमिर निस्किएको छैन। स्टार त आइरहेका छन्। तर, २-४ वर्षपछि पलायन हुने क्रम निरन्तर छ। उनी यस्ती खेलाडी हुन्, जसले २२ वर्ष खेलेरै बिताइन्। यस्तो खेल जीवन नेपाली समाजमा दुर्लभै हो।

उनले स्विमिङ पुलमा डुबुल्की मार्न छाडेको चार वर्ष भइसकेको छ। यो अवधिमा उनी बास्केटबल खेलाडी बनिन्। नेपाली राष्ट्रिय महिला टिमको नेतृत्व नै गरिन्। त्रिपुरेश्वरमा कभर्ड हल र स्विमिङ पुल नजिकै छन्। बास्केटबल प्रशिक्षण गर्न कभर्ड हल पुगेको बेला स्विमिङ पुलमा पनि बारम्बार जाने गर्छिन्। स्विमिङ पुलका लाइफ गार्डहरू उनलाई नयना शाक्य भनेर बोलाउँदैनन्, भन्छन् 'रुन्ची आइन्'। 'उहाँहरू यी रुन्ची केटी यस्तो खेलाडी हुन्छ भन्ने सोचेकै थिइनँ भन्नुहुन्छ,' नयना भन्छिन्, 'मैले पनि कहाँ सोचेकी थिएँ र !'

कानमा समस्या भएपछि उनले २०४९ सालदेखिको स्विमिङ करिअर चार वर्षअघि टुंग्याइन्। दोस्रो इनिङ्सको रूपमा रहेको बास्केटबल करिअरलाई पनि उनले गएको साता पूर्णविराम लगाएको घोषणा गरेकी छन्। उनी अब पूर्ण रूपमा प्रशिक्षकको करिअरमा लागेकी छन्। पौडीमा परिषद्का एक्ली महिला प्रशिक्षक उनी नै हन्।

'पौडीमा खेलाडी घट्दै गएका छन्। जति धेरै खेलाडी प्रतिस्पर्धा त्यति स्तरीय हुन्छ। त्यसैले नयाँ खेलाडी उत्पादनका लागि काम गर्नेछु,' उनले भनिन्, 'त्यसैले बास्केटबलबाट सन्न्यास लिएकी हुँ।' उनलाई खेल्न छाड्ने मन भने पटक्कै थिएन। 'अहिले पनि फिट छु। टिन एजर्ससँग मजाले भिडेर खेल्न सक्छु। तर, अब नयाँ खेलाडी उत्पादनमा ध्यान दिनेछु,' उनले भनिन्।

भाग्यको खेल
उनी ईखालु छिन्, त्यसैले खुबै मिहिनेत गर्छिन्। नेपालगन्जमा २०५५ साल चैतमा भएको चौथो राष्ट्रिय खेलकुदको पौडीमा महिलातर्फ समावेश सबै -नौ) स्पर्धामा स्वर्णपदक जितेपछि नयना १५ वर्षको उमेरमा रातारात हिट भएकी थिइन्। ब्रेस्ट स्ट्रोक र ब्याक स्ट्रोकमा पारङ्गत उनी भन्छिन्, '५ दिन मात्र अभ्यास गरेको थिएँ। राम्रो लयमा थिएन। बढीमा ४-५ स्वर्ण जित्ने लक्ष्य थियो। नौ स्वर्ण त सोचेकै थिइनँ।' त्यसपछि उनी आठौं साफ गेम्सको तयारीमा लागिन्। त्यही क्रममा नयाँ दिल्लीमा खेलेको १३ औं एसिया प्यासिफिक स्विमिङ च्याम्पियनसिपमा दुई काँस्य (एक व्यक्तिगत र अर्को टिम स्पर्धामा) जितिन्।

परिषद्ले चिनियाँ प्रशिक्षक झिकाएर आठौं साफको स्विमिङ टिमलाई ६ महिने बन्द प्रशिक्षण गरायो। सबैको खेल सुधारियो। तर, दक्षिण एसियामा भारत, श्रीलंका र पाकिस्तानीलाई उछिनेर पदक जित्नु नेपालका लागि फलामको चिउरा चपाउनुजस्तै थियो, अझै छ। त्यसैले त दक्षिण एसियाली खेलकुद आयोजनाको ३० वर्षे इतिहासमा नेपालले पौडीमा दोस्रो स्वर्ण जित्न सकेको छैन।

नयना, रुना प्रधान, रुबिना प्रधान र स्तुति सिंहले रिले ४ गुण १ सय मिटरमा काठमाडौंमा २०५६ असोजमा भएको आठौं साफमा स्वर्ण जितेका थिए। यस्तो सफलता न त्यसअघि हात लागेको थियो न त त्यसपछि नै छ। कारण नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन झन् कमजोर भइरहेको छ। त्यो स्वर्णलाई नयना भाग्यको खेल मान्छिन्। हुन पनि त्यस्तै थियो। नेपाली टिम तेस्रो स्थानमा रहेको थियो। शीर्ष दुईका भारत र श्रीलंकाली टिम अयोग्य घोषित भएपछि नेपाललाई ऐतिहासिक स्वर्ण मिलेको थियो। 'हाम्रो लक्ष्य काँस्य पदक नै थियो,' नयना भन्छिन्, 'भाग्यले साथ दियो र स्वर्णको इतिहासै बन्यो।'

उनले घरेलु प्रतियोगितामा १ सय बढी स्वर्ण जितेकी छन्। ती सफलता भने भाग्यभन्दा उनको मिहिनेतको प्रतिफल थिए। आठौं साफलाई राम्रो तयारी गर्‍यो भने पदक जित्न सकिने उदाहरण मान्छिन् उनी। 'हामीकहाँ हिउँदमा अभ्यास गर्ने स्विमिङ पुल छैन,' उनी भन्छिन्, '६ महिना मात्र अभ्यास गरेर कसरी सफलता आस गर्ने? यो समस्या सबैले बुझेका छन् र समाधानका लागि के गर्नुपर्छ भन्ने पनि उहाँहरूलाई राम्रोसँग थाहा छ।'

जब सपना साकार भयो

उनले सन् २००४ मा एथेन्स ओलम्पिकमा सहभागी हुने मौका पाइन्। उनी बैंकक एसियाड १९९८ र बुसान एसियाड २००२ मा पनि पौडिइन्। उनी एकपल्ट वल्र्ड च्याम्पियनसिप र चारपल्ट दक्षिण एसियाली खेलकुदमा सहभागी भइन्। अर्थात्, उनी पौडी खेलाडीले खेल्न पाउने सबै प्रतियोगितामा पुगेकी छन्। र, तीन महिनाअघि इन्चोन एसियाडमा बास्केटबल खेलिन्। उनी दुई खेलमा एसियाड खेल्ने दुर्लभ नेपाली हुन्।

ओलम्पिक भिलेजको बसाइलाई उनी जीवनकै महत्त्वपूर्ण मान्छिन्। भन्छिन्, 'साथीसँग गफिँदै हिँडिरहेको थिएँ। एक्कासि ठोक्कियो। यसो माथितिर हेरेको त चिनियाँ बास्केटबल स्टार याओ मिङ -७ फिट ६ इन्च अग्ला) को शरीरमा पो ठोक्किएको रहेछ। अचम्मै लाग्यो। उनलाई त्यसअघि टीभीमा मात्र देखेको थिएँ।' उनी युक्रेनी स्विमर याना क्लोचकोभालाई आदर्श मान्छिन्। त्यसैले उनी बास्केटबल खेल्दा याना लेखिएको जर्सी लगाउँछिन्। उही याना र ओलम्पिककै सर्वाधिक सफल माइकल फेल्प्ससँग एभेन्समा भएको भेटमा उनी गर्व गर्छिन्।

तिब्बती सोनाम डोल्मा र काठमाडौंका नेवार ज्वारमानकी यी कान्छी छोरी फरासिली छन्। बास्केटबल टिममा टिन एजर्ससँग पनि मजाले घुलमिल हुन्छिन्। उनले इन्चोनमा सानिया मिर्जा, मेरी कोम र सुनील क्षत्रीसँग गफिन भ्याइसकेकी छन्। ५ फिट ६ इन्चकी उनको उचाइ नेपालीमाझ राम्रै मानिन्छ। तर, बास्केटबलमा अग्लाकै हैकम चल्छ। 'हामी बास्केटबल खेल्न आएको भन्दा धेरैले हाँसेर उडाए,' उनले इन्चोन यात्राबारे भनिन्, 'एउटा पाकिस्तानीले त- शर पे चढ्के खेलेंगे क्या भने।'

उनको नौ स्वर्णको कीर्तिमानलाई दस वर्षपछि करिश्मा कार्की -१२ स्वर्ण) ले उछिनिन्। ११ वर्षे गौरिका सिंहले चार महिनाअघि २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा उनको १२ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्। योसँगै नौ स्पर्धामा उनले पटक-पटक बनाएको राष्ट्रिय कीर्तिमान अरूकै नाममा भएका छन्। प्राइम स्पोर्ट्स क्लबसँगै उनले जितेका ३ दर्जन उपाधिलाई पनि अरूले उछिन्लान्। तर, उनको २२ वर्षे खेल जीवनलाई उस्तै सफलताका साथ माथ दिन भने सजिलो छैन।

उनलाई २०६४ सालतिर कानमा पानी पसेपछि इन्फेक्सन भएको थियो। अन्ततः त्यसैले उनको स्विमिङ करिअरमा पूर्णविराम लगायो। 'इन्फेक्सन बढेपछि डाक्टरले पौडी नै नखेल्नु भने। बेस्सरी रोएँ। पानी देख्यो कि पौडन मन लाग्छ। त्यसैले कति महिना त स्विमिङ पुल नै गइनँ,' उनले बताइन्। त्यही निरासा भुल्न उनी बास्केटबलतर्फ लागिन्। बिस्तारै कोर्टमै रमाउन थालिन्। बल र बास्केटसँग अभ्यस्त हुन सिकाएका गुरु विकास शाहीलाई नै जीवनसाथी पाइन्। उनी प्राइम र राष्ट्रिय बास्केटबल टिमकी कप्तान र खेलाडी हुँदा टिमको प्रशिक्षकमा विकास थिए, छन्।

नेपालमा खेलेर केही हुन्न भन्दै उनलाई विदेश जान धेरैले सुझाए। बीबीए सकाएकी उनका धेरै साथी र नातेदार पनि विदेशमै छन्। 'म यहीं सन्तुष्ट छु,' उनी भन्छिन्, 'साथीहरू पैसा हेरेर विदेश गए। उनीहरू मलाई नेपालमै बसेर खेलेर के पाइस् भन्छन्। मैले नाम, इज्जत कमाएकी छु। यसैमा सन्तुष्ट छु। पैसा नै सबै कुरा होइन। लोडसेडिङ जति नै बढोस् आफूलाई सन्तुष्ट हुने काम गर्दै आफ्नै देशमा बस्छु।'
(Published in Koseli)