Pages

किङ्स कप र मनाङ-मर्स्याङ्दी

Monday, January 12, 2015
थिम्पु (भुटान), मंसिर २७ - भुटानी राष्ट्रिय टिमले काठमाडौंमा नेपालसँग भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको ३२ वर्ष भइसकेको छ। उसले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सदस्यता लिएकै १४ वर्ष भयो। उसले सन् १९८० को दशक नेपाली टिमलाई कडा टक्कर दिंदै आएको थियो। नेपालमा केही प्रतियोगिताको फाइनल पनि खेल्यो। तर, दुई दशकयता उसको नतिजा राम्रो छैन। फिफा वरीयताको अन्तिम स्थान (२ सय नवौं) मा रहेकाले पनि त्यसलाई पुष्टि गर्छ। तैपनि हिमालयको देश खुसी नै छ।
'सही ठाउँमा लगानी गरिरहेका छौं। त्यसलाई नतिजामा बदल्न अझै समय लाग्छ,' भुटान फुटबल महासंघका सहायक महासचिव मिन्डु दोर्जेले भने। उनका अनुसार महासंघले नयाँ खेलाडी उत्पादनका लागि 'ग्रासरुट फुटबल'मा दशकयता ठूलो लगानी गरिरहेको छ। सन् २००९ देखि राष्ट्रिय लिग निरन्तर आयोजना भइरहेको छ। त्यो पनि होम एन्ड अवेका आधारमा। थिम्पुमा दुई श्रेणीका लिग निरन्तर छन्।
ग्रासरुट र राष्ट्रिय लिगसँगै भुटानले भौतिक पूर्वाधारमा जोड दिएको छ। अन्तर्राष्ट्रय फुटबल महासंघ -फिफा) का अध्यक्ष सेप ब्लाटरले दुई वर्षअघि गरेको भ्रमणमा दिएको उपहार 'आर्टिफिसियल टर्फ' थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा बिछ्याइएको छ। त्यसैमा गत वर्षदेखि किङ्स कप ब्युँताइएको हो। गोल प्रोजेक्टअन्तर्गत चाङजी-जीमा दुई -सेभेन 'ए' साइडको एकसहित) आर्टिफिसियल टर्फ सञ्चालनमा आइसकेका छन्। फिफाको त्यही प्रोजेक्टअन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा भने एक मात्र टर्फ बनेको छ।
जाडोयाममा निकै चिसो हुने भएकाले प्राकृतिक रूपमै मैदानलाई हरियाली राख्न गाह्रो हुन्छ। त्यसैले भुटानमा आर्टिफिसयल टर्फलाई जोड दिइएको बताइएको छ। 'थप चार आर्टिफिसियल टर्फ राख्दैछौं,' सहायक महासचिव मिन्डुले भने, 'त्यसपछि खेलाडीलाई अवसर दिन प्रतियोगिता विस्तार गर्नेछौं। किङ्स कप त्यसैको एक अभियान हो। अर्को वर्ष यो प्रतियोगितालाई अझ भव्य बनाउनेछौं।' अर्को वर्ष दक्षिण कोरियाली टिमको सहभागिता पक्का भइसकेको उल्लेख गर्दै उनले भने, 'माथिल्लो श्रेणीको थाई क्लब र भारतका उत्कृष्ट टिम आउन लालायित छन्। त्यसैले उत्कृष्ट टिमहरूलाई मैदानमा उतार्न इन्डियन सुपर लिगभन्दा ठीकअघि किङ्स कप आयोजना गर्नेछौं।'
अघिल्लो साता सम्पन्न किङ्स कपको तेस्रो संस्करण पनि नै भव्य थियो। तीन देश (नेपाल, बंगलादेश र भुटान) का पहिलो श्रेणीका लिग च्याम्पियन, पुरानो इतिहास बोकेको कोलकाताको मोहन बगान र भारतकै सबैभन्दा व्यावसायिक क्लब मानिने पुने र थाई 'बी' डिभिजन लिग च्याम्पियन नाखोन रत्चसिमासहित नौ क्लब सहभागी थिए। करिब १५ करोड रुपैयाँ वाषिर्क बजेटको बंगलादेश पि्रमियर लिग विजेता शेख जमल धनमुन्दी किङ्स कप च्याम्पियन भयो। उसैले नेपाली लिग च्याम्पियन मनाङ-मस्र्याङ्दीलाई सेमिफाइनलमा सिकार बनाएको थियो।
किङ्स कपसँग मनाङको नाता पुरानै हो। उसले सन् २००४ मा भएको पहिलो संस्करणको फाइनल पनि खेलेको थियो। त्यसबेला उसलाई ३-० ले हराएर थाई क्लब बीईसी टेरो सासानाले ट्रफी चुमेको थियो। नौ वर्षपछि भएको दोस्रो संस्करणमा त मनाङ फाइनलमा ४-२ ले घरेलु टिम यिदजिनलाई हराएर तेस्रो देशमा उपाधि जित्ने पहिलो नेपाली क्लब भएको थियो।
किङ्स कपमा को च्याम्पियन भयोभन्दा पनि त्यसको संरचना कस्तो थियो भन्ने महत्त्वपूर्ण हो। पाँच देशका नौ क्लबलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइएको थियो र यस्तो संरचनालाई फुटबलमा उत्तम मानिन्छ। त्यसैले किङ्स कपलाई दक्षिण एसियाली क्लब फुटबलकै सबभन्दा राम्रो प्रतियोगिता मान्नुपर्छ। यो स्तरको प्रतियोगिता नेपालमा भएको छैन। गत वर्ष पनि चार देशका क्लबले प्रतिस्पर्धा गरेका थिए।
साफ आयोजनाको लक्ष्य
भुटानी राष्ट्रिय टिमले अहिलेसम्म घरेलु मैदानमा खेलेको छैन। सबै खेल विदेशमै खेल्दै आएको छ। किङ्स कपको आयोजना भव्य बनाउँदै गएपछि सन् २०१७ को साफ च्याम्पियनसिप नै आयोजना गर्ने महासंघले लक्ष्य बनाएको छ। 'आर्टिफिसियल टर्फमा खेल सञ्चालन गर्ने स्वीकृति दिए २०१७ को साफ आयोजना गर्ने योजनामा छौं,' सहायक महासचिव मिन्डुले भने।
महासंघले किङ्स कप आयोजनामा करिब १ करोड ६० लाख रुपैयाँ खर्च गर्‍यो। करिब १० हजार दर्शक क्षमताको चाङलिमिथाङ स्टेडियममा किङ्स कपको १९ खेलको टिकटका लागि परेको १ करोड २१ लाख रुपैयाँको टेन्डर सबैभन्दा ठूलो आम्दानी हो। यो प्रतियोगितामा राम्रो खेलेसँगै भुटानी खेलाडीलाई थाई र बंगलादेशी क्लबको प्रस्ताव पनि आउन थालेको छ। महासंघको प्राथमिकतामा ग्रासरुट, प्राविधिक जनशक्ति उत्पादन र भौतिक पूर्वाधार निर्माण नै छन्। फिफाले दिने करिब ७ करोड -वाषिर्क) नै उसको मुख्य स्रोत हो।
महासंघले मासिक २४ हजारमा १६ प्रशिक्षक राखेको छ। रेफ्रीमा एसियाली फुटबल महासंघ (एएफसी) को इन्स्ट्रक्टरसम्म भइसकेका छन्, जुन अवसर नेपालीले पाएकै छैनन्। राष्ट्रिय खेलाडीलाई सन् २०१५ को सुरुबाट मासिक १६ हजार तलबको व्यवस्था गर्ने निर्णय पनि महासंघले गरिसकेको छ। यसले साढे ७ लाख जनसंख्या भएको हिमालयको देश दीर्घकालीन योजनासहित फुटबलमा अघि बढिरहेको देखाउँछ।
नेपाली राष्ट्रिय टिमले भुटानविरुद्धका सबै खेल जितेको तथ्यांक छ। त्यसो भए तीन दशकअघिसम्म दार्जिलिङ, सिक्किम र नेपाली भूमिमा भुटानी टिमको सफलता कसरी सम्भव भयो त? 'त्यसबेला यहाँ कार्यरत भारतीयलाई पनि भुटानी टिमबाट खेलाइन्थ्यो। त्यसैले टिम बलियो थियो। जब भुटानी नागरिकलाई मात्र टिममा राख्न थालियो, तब कमजोर देखिएको हो,' पूर्वराष्ट्रिय खेलाडी दिनेश क्षेत्रीले भने। अब ग्रासरुटबाट उत्पादित खेलाडीले फेरि नेपाललाई टक्कर दिने उनको आस छ।