
थिम्पु (भुटान), मंसिर २० - नोभेम्बर २४ मा राजधानी थिम्पुको चाङ्लीमिथाङ स्टेडियममा भएको किंग्स कपमा घरेलु टिमको फुटबल हेर्न भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे सुटुक्क छिरे। खेल हेर्न प्रधानमन्त्री आएको आयोजकले मध्यान्तरको केहीअघि मात्र थाहा पाए। भुटान फुटबल महासंघका सहायक महासचिव मिन्डु दोर्जेले भने, 'प्रधानमन्त्री खेलप्रेमी छन्, थाहै नदिई हेर्न आइरहन्छन्।'
समुद्री सतहबाट २ हजार ३ सय २० मिटर उचाइमा रहेको थिम्पुमा जीवन फेरिँदै गएको देख्न सकिन्छ। अमेरिकी म्यागजिन 'विजनेस विक'ले सन् २००६ मा भुटानलाई एसियाकै सबैभन्दा खुसी भएको देशमा राखेको थियो। यो विश्व वरीयतामा आठौं थियो। यो समाचारपछि 'किङडम अफ ह्याप्पीनेस' (खुसियालीको अधिराज्य) को रूपमा भुटानको ख्याति अझ बढ्यो। मानव विकास सूचकांक मापनको आधार आर्थिक वृद्धि मात्रै नभई सन्तुष्टिलाई समेत मानिएको थियो। तर यो खुसीको पारोसँग एक लाख नेपाली मूलका शरणार्थीको दुःखलाई भने जोडिएको छैन।
१९८८ पछि सरकारी कार्यालय, स्कुल, कलेज र चाडबाडमा राष्ट्रिय पोसाक (गो र कीरा) लगाउनैपर्ने र जोङ्खा भाषा बोल्नुपर्ने नियम लागू गरिएपछि यसको विरोध गर्ने दक्षिण भुटानको चिराङबाट १ लाखभन्दा धेरै नेपालीभाषी लखेटिएका थिए। शरणार्थीका रूपमा पूर्वी नेपालमा बसेका ९० हजार ३ सय ३७ -भुटानी शरणार्थी) विभिन्न मुलुकमा पुनर्वासका लागि गइसकेका छन्। झापा-मोरङका शिविरमा अब ३५ हजारजति शरणार्थी बाँकी भएको यस
क्षेत्रमा काम गर्ने संस्थाहरूले जनाएका छन्।
ग्रस नेसनल ह्याप्पीनेस (जीएनएच) आयोगले नै भुटानमा विकासको नीति र स्रोत परिचालनका कार्यक्रम ल्याउँछ। यस्तो विधि अपनाएको भुटान विश्वकै एक्लो देश हो। अरू देशमा यो काम योजना आयोगले गर्छ। यसमा असल शासन, सामुदायिक सशक्तता, परिस्थितिजन्य विविधता र अनुकूलन, जीवनस्तर, समयको उपयोगितालाई आधार मानेर सूचकांक तयार गरिन्छ। चार वर्षअघि भएको सर्वेक्षणमा जीवनस्तरलाई १८.४ प्रतिशतले सर्वोत्तम, ६५.२ ले उत्तम, १२ ले ठीकै र ४ प्रतिशतले असन्तोषपूर्ण भनेका छन्। करिब ७ लाख ५० हजार जनसंख्या भएको भुटान दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश पनि हो।
'यहाँ हुने ठूलो अपराध भनेको ल्यापटप र फोन चोरी हो,' पत्रकार नाम्गे जामले भनिन्। २६ वर्षे यिवाङ पिन्डारिकाले गत वर्षदेखि ट्राभल एजेन्सी खोलेर पर्यटन व्यवसाय सुरु गरेकी छन्। भुटानमा एक लाखभन्दा धेरै पर्यटक आउँछन् र यो नै उसको दोस्रो ठूलो आम्दानीको स्रोत हो। प्रत्येक पर्यटकले दैनिक २ सय (अफ सिजन) र २ सय ५० (सिजनमा) खर्च गर्नैपर्छ। सबभन्दा ठूलो कमाइचाहिँ जलविद्युत् हो। उसले १ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गरिरहेको छ र सन् २०२० भित्र १० हजार मेगावाट उत्पादन गरेर भारतलाई बेच्ने लक्ष्य बनाएको छ। नयाँ पुस्ताका भुटानी युवाहरू पर्यटनतिर बढी आकषिर्त भएका देखिन्छन्।
राजधानी थिम्पुमा विवाह नगरी सँगै बस्ने जोडी (लिभिङ टुगेदर) लाई सामान्य मानिन्छ। २० वर्षीया रिता राई पछिल्लो आठ महिनादेखि लिभिङ टुगेदरमा छिन्। १० कक्षा पढेर छाडेकी उनी एउटा होटेलमा वेटर काम गर्छिन्। पत्रकार नाम्गे जाम पनि ८ वर्षदेखि लिभिङ टुगेदरमै छिन्। उनीहरू यसलाई सामान्य मान्छन्। लागूऔषध दुव्र्यसनी बढेपछि केही औषधि प्रतिबन्धित छन् ।
प्रकाशित मिति: २०७१ मंसिर २० ०८:२९
http://www.ekantipur.com/np/2071/8/20/full-story/399806.html